काठमाडौं, १२ असोज । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यले जेन–जी आन्दोलनको क्रममा आगो लगाउने र लुटपाट गर्नेलाई कारबाही गर्न प्रचलित कानून नै पर्याप्त रहेको बताएका छन् । गत भदौ २४ गते भएको लुटपाट र आगलागीको घटनामा कारबाही गर्नका लागि गठित आयोगले कुनै सहयोग नगर्ने बताएका हुन् । आयोग गठनको कारण देखाई अपराधमा संलग्न व्यक्तिउपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित नहुने उनको भनाइ छ ।
‘आयोग गठनको कारण देखाइ अपराधमा संलग्न व्यक्ति उपर कुनै कारबाही नै अघि नबढाउनु भन्नु उचित होइन । यसले त घटनालाई ढाकछोप गर्न खोजे जस्तो देखियो । २३ गतेको घटनामा आयोगको प्रतिवेदन केही हद् सम्म उपयोगी हुन सक्ला । तर, २४ गतेको घटनाका लागि यसले केही मद्दत गर्न सक्दैन । आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यका लागि प्रचलित कानून नै प्रयाप्त रहेकोले आयोगको बाहना बनाउनु ठीक भएन । आफ्ना केही स्वतन्त्रताको परित्याग गरि व्यक्ति राज्यको अधीनमा बस्न मन्जुर गर्नु पछाडिको मूख्य कारण सुरक्षा नै हो । आफ्ना नागरिकको जीउ, ज्यान र सम्पत्तिको सुरक्षा राज्यको पहिलो दायित्व हो । यो राज्य बस्न लायक छ, अनूभूत हुनु पर्यो,’– उनले भनेका छन् ।




प्रतिक्रिया