विचलित नभई उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहसचिव दंगालको निर्देशन


काठमाडौं, १२ असोज । गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । सो क्रममा उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिएका छन् । गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

निरीक्षणपश्चात आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे । मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितीको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नपनि उनले जोड दिए ।

गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनस्र्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वस्फूर्त रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरी प्रति जनताको आशा एवम् भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो । प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृहमन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।