धरान (सुनसरी), १२ असोज । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका(१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन् ।
सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन् । उनले भने, “चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु । यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ ।”
धनकुटाको सागुरीगढी गाउँपालिका(७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आएका छन् । “पशुपालन हाम्रो पुख्र्यौली पेसा हो, गाउँमा घाँस पाइन्छ, अन्न र दाना किन्नुपरे पनि व्यापारमा नोक्सानी हुँदैन”, उनले भने । उनका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।
सुनसरीको दुहबी नगरपालिका-५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्दै आएका छन् । उनले एक दिनमा १०० देखि एक सय ५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्रीका लागि पठाउन गरेकोे जानकारी दिए । “यो व्यवसाय गरेको ३१ वर्ष भयो, अहिले मासिक रु ८० हजारदेखि रु एक लाखसम्म नाफा हुन्छ”, उनले भने ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब चार हजार ५०० वटा खसीबोका बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०८१र८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब रु दुई अर्ब ४० करोड बराबरको कारोबार भएको उनले जानकारी दिए ।
प्रत्येक वर्षको भदौदेखि अत्यधिक खसीबोका कारोबार हुने जनाउँदै अध्यक्ष भट्टराईले यो वर्षको भदौमा भने कारोबार कम भएको बताए । “साउनमा लगातार वर्षा हुँदा ढुवानीमा समस्या भयो । भदौमा जेनजी प्रदर्शनका कारण व्यापारमा डर सिर्जना भयो र यातायात अवरुद्ध हुँदा गत वर्षको तुलनामा यस वर्ष खसीबोका किनबेचमा कमी आएको हो”, उनले भने ।
धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि आउने गरेका छन् ।
यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म पनि निर्यात हुने गरेको धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । रासस




प्रतिक्रिया