स्वाधिन संयुक्त सरकार निर्माणको बाटोमा अघि बढ्न क्रान्तिकारी कम्युनिष्ट पार्टी र संगठनहरुको अपिल, जेनजी आन्दोलन अपहरण गरिएको आरोप


काठमाडौं, १२ असोज । क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठनहरुले अहिले राज्यसत्ता यथास्थितिको आवरणमा पश्चगामी बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलन र यसपछिको राजनीतिक परिस्थितिबारे धारणा बनाउँदै उनीहरुले यस्तो टिप्पणी गरेका हुन् । उनीहरुले जेन–जी आन्दोलनलाई बीचबाट प्रतिगामी र यथास्थितिवादी शक्तिहरुले अपहरण गरेको दाबी गरेका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, श्रमिक जनता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी), ग्रेटर नेपाल कम्युनिष्ट पार्टी, नेकपा विद्रोही, रेडफोर्स नेपाल पार्टीलगायतले पत्रकार सम्मेलन गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनीहरुले जेन–जी आन्दोलन पछि जेन–जीसहितको राजनीतिक शक्तिको उदयसमेत हुन नपाएको र अग्रगामी बाटोपनि पहिल्याउन नसकेको निश्कर्ष निकालेका छन् ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रको जन र धनको रक्षा गर्नु सेनाको प्रमुख कर्तव्य हो । जनताको आन्दोलनको बलमा शासकीय सत्ता परिवर्तन हुने र अवस्थामा मात्र होईन, राज्य सत्तानै परिवर्तन हुने स्थिति आए पनि सेनाले राष्ट्रिय सम्पत्ति रक्ष ागर्न सक्नुपर्दथ्यो र संघर्षशील शक्ति अग्रगामी भएको अवस्थामा नयाँ राजनीतिक शक्तिको पक्षमा उभिन सक्नुपर्दथ्यो । आन्दोलनले न जेनजीसहितको नयाँ राजनीतिक शक्तिको उदय हुन पायो, न अग्रगामी बाटो पहिल्याउन ।’ उनीहरुले अहिले जनताका हकअधिकार गुम्ने खतरासमेत रहेको औंल्याएका छन् ।

उनीहरुको विज्ञप्तीमा थप भनिएको छ,‘यथास्थिति र पश्चगमनले जनताले लामो समय संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्ष ागर्न सक्दैन । केवल समाजको अग्रगामी रुपान्तरणले मात्र जनताका अधिकारहरु रक्ष ागर्न सम्भव हुनेछ । अहिले हाम्रो सामू जुन राजनीतिक अवस्था देखापरेको छ, त्यसले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर खतरा पैदा भएको छ । राष्ट्रिय स्वाधिनताको रक्ष ागर्न, जनताको सार्वभौमिकता कायम राख्न, जनताको अधिकार समाप्त हुने अवस्थाबाट देशलाई बचाउन फेरि एकपटक देशभक्त, जनवादी, क्रान्तिकारी शक्तिहरु एकतावद्ध भएर स्वाधिन संयुक्त सरकार निर्माणको संघर्षमा अघि बढ्न आवश्यक छ ।’ उनीहरुले अब जनताको शासन स्थापना गर्न संघर्ष गर्नको लागि पनि अपिल गरेका छन् ।

उनीहरुले अघि सारेका मागहरुमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै साम्राज्यवाद/विस्तारवादको मुकावला गर्नुपर्ने, जेनजीले उठाएका अग्रगामी राजनीतिक मुद्दाहरु सम्बोधन गरिनुपर्ने, संसदीय व्यवस्था खारेज गर्ने, जनसंविधान निर्माणको बाटोमा अघि बढ्नुपर्ने, स्वाधिन संयुक्त सरकारको बाटोमा अघि बढ्नुपर्नेलगायतका छन् । बोल्ने बक्ताहरुमा धर्मेन्द्र बास्तोला, सिताराम तामाङ्, राजकुमार हिङमाङ्, लोकनारायण सुवेदी, वसन्त बोगटी, माधव गौतम, दुर्गा बराईली, अरुण घिसिङ, क मुक्ति, क. प्रतिवाद र क. मार्शलले बोलेका थिए ।