काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले दलहरु सुध्रिनेगरि व्यापक छलफल भइरहेको बताएका छन् । सबै दलभित्र यतिवेला नेताहरुले आफ्ना शीर्ष नेताहरुलाई थुप्रै दबाब सिर्जना गरेको पनि उनले स्मरण गराए ।
आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले दलहरुमा रुपान्तरण विस्तारै सुरु हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे । कांग्रेसको हकमा नेतृत्व परिवर्तनको बहसमा महाधिवेशन नै उपयुक्त फोरम भएको उनको भनाई छ ।
उनले आगामी मंसिरसम्म महाधिवेशन गर्न सकिने पनि उनले विश्वास दिलाए । उनले भने,‘हाम्रो पार्टीमा युवा पदाधिकारी हुनुहुन्छ, उहाँहरु प्रविधिमैत्री हुनुहुन्छ । उहाँहरुले चाहनुभयो भने हामीले मंसिरमा विशेष महाधिवेशनपनि गर्नसक्छौं, नसके रेगुलर महाधिवेशन पनि गर्न सक्छौं । युवाहरुको मागअनुसार पार्टीलाई एडजस्ट गर्न सकिन्छ ।’
उनले आफूहरुले आशा गरेको युवा पदाधिकारीले पनि नेतृत्वलाई गलत बाटोमा जानबाट रोक्न नसकेको गुनासो पोखे । उनले भने,‘युवा पदाधिकारीले पनि हामीले आकांक्षा गरेअनुसार नेतृत्वलाई गलत बाटोमा जानबाट रोक्न सकेन, बरु त्यसमै सहभागी भयो । दल बनाउन होस, वा गठबन्धन बनाउन होस, पत्रकारको निर्वाचनमा होस, कानून व्यवसायीहरुको निर्वाचनमा पनि गठबन्धन नै गर्यौं ।’ कांग्रेसभित्र गलत र गुण्डागर्दी गर्ने मान्छे ल्याएर हुल्दा अहिलेको परीणाम भोग्नुपरेको उनको टिप्पणी छ । उनले लोकतन्त्रलाई बचाउँदै राष्ट्रियतामा आँच आउन नदिनको लागि काम गरिनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया