केपी ओलीको पासपोर्ट रोक्का र महेश बस्नेतविरुद्ध प्रतिशोध साँध्न खोजेको भन्दै युवा संघको आपत्ति (विज्ञप्तीसहित)


काठमाडौं, १४ असोज । राष्ट्रिय युवा संघ, नेपालले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेले आज एक विज्ञप्ती निकाल्दै पार्टीका अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने भनेर वर्तमान सरकारले गरेको निर्णयप्रति चासो र आपत्ति प्रकट गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘वर्तमान सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ । गत भदौ २३ र २४ गतेको घट्नासम्बन्धी जाँचबुझ आयोगले बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूवाग्रहको आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्गै छ । हामी उक्त घट्नाको निष्पक्ष छानबिनको पक्षमा छौं । तर, छानबिन नगरी प्रारम्भमै अपराधी करार गर्नेगरि गम्भीर प्रकारका निर्णय गरिनु आपत्तिजनक छ ।’ ओलीको राहदानी रोक्का गरेर राजनीतिक साँध्ने अराजनीतिक कार्य भएको थेवेको दाबी छ ।

अध्यक्ष थेवेले पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएकोले यसप्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन पनि माग गरेका छन् । वर्तमान सरकारको प्रमुख जिम्मेवारी नै आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु भएकोले निर्वाचन सफल बनाउन आफूहरु भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले वर्तमान सरकार अनावश्यक रुपमा राजनीतिक पूर्वाग्रह र प्रतिशोधमा संलग्न हुन खोजेको आभाष भएको टिप्पणी गरेका छन् ।