ढाका, १४ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्गलादेशमा जारी लोकतान्त्रिक सङ्क्रमण र सुधार पहलप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन् ।
सोमबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बङ्गलादेशका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुससँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रोफेसर युनुसले विदेश सल्लाहकार तौहिद हुसेन, राष्ट्रिय सुरक्षा सल्लाहकार खलीलुर रहमान, प्रमुख सचिव सिराज उद्दीन मिया र एसडिजी संयोजक लामिया मोर्शेदसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा राजनीतिक सुधार, आगामी फेब्रुअरीमा हुने आम चुनावको तयारी, जुलाई विद्रोहका क्रममा भएका अत्याचारको जवाफदेहिता, संरक्षणवादी शुल्क उपायहरू र सेप्टेम्बर ३० का लागि तय गरिएको अन्तर्राष्ट्रिय रोहिङ्ग्या सम्मेलन जस्ता विस्तृत मुद्दाहरूमा छलफल भएको प्रमुख सल्लाहकारको प्रेस विङले जनाएको छ ।
प्रमुख सल्लाहकारले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तरिम सरकारले चालेका सुधारका उपाय र प्रतिबद्धता बारे महासचिवलाई जानकारी दिए ।
“आगामी केही महिना महत्त्वपूर्ण हुनेछन् । चुनावका लागि हामीलाई तपाईँको समर्थन चाहिन्छ”, प्रोफेसर युनुसले भने ।
उनले बहिष्कृत शासन र यसका सहयोगीहरूले मतदानअघि देशलाई अस्थिर पार्ने प्रयासमा चोरी गरिएका सम्पत्तिहरू प्रयोग गरी गलत सूचना अभियानमा आर्थिक सहयोग भइरहेको प्रकाश पारे । “उनीहरू फेब्रुअरीमा चुनाव चाहँदैनन् । केही अन्तर्राष्ट्रिय क्षेत्रहरूले उनीहरूलाई समर्थन गरिरहेका छन्”, उनले भने ।
जवाफमा, महासचिव गुटेरेसले बङ्गलादेशको लोकतान्त्रिक सङ्क्रमण र सुधार एजेन्डाका लागि संयुक्त राष्ट्रसङ्घको बलियो समर्थन दोहो¥याए । उनले रोहिङ्ग्या सङ्कटको स्थायी समाधानका लागि विश्वव्यापी वकालतमा संयुक्त राष्ट्रसङ्घको निरन्तर प्रतिबद्धता पनि दोहो¥याए ।
महासचिव गुटेरेसले विगत १४ महिनामा प्रमुख सल्लाहकारको प्रयासको प्रशंसा गर्दै बङ्गलादेशमा कठिन परिवर्तनलाई मार्गनिर्देशन गर्न उहाँको नेतृत्वको सम्मान र प्रशंसा व्यक्त गरे।
प्रमुख सल्लाहकारले सोमबार उच्चस्तरीय अन्तर्राष्ट्रिय रोहिङ्ग्या सम्मेलन बोलाएकोमा महासचिवप्रति कृतज्ञता व्यक्त गरे । यस घटनाले सङ्कटलाई विश्वव्यापी ध्यानाकर्षण गराउन र शिविरहरूमा महत्त्वपूर्ण मानवीय प्रतिक्रिया सुनिश्चित गर्न कोष परिचालनमा भूमिका खेल्ने बताए ।
संयुक्त राष्ट्रसङ्घका प्रमुखले रोहिङ्ग्या सङ्कट समाधानका लागि मार्ग खोज्न बङ्गलादेशसँगको समर्थन र ऐक्यबद्धता पनि दोहो¥याए । रासस




प्रतिक्रिया