दशैं खानपिनको लागि डा. भट्टराईको सुझाव : सकेसम्म छाला र बोसोरहित मासु खानुहोस, भुटेकोभन्दा झोल मासु स्वस्थकर (भिडिओ सहित)


काठमाडौं, १५ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिलकुमार भट्टराईले छालारहित मासु स्वस्थ हुने बताएका छन् । उनले भने,‘छाला र बोसो झिकेर खाँदा मासु अलिक बढि स्वस्थकर हुन्छ । दशैंमा विहान, दिउँसो र बेलुकापनि मासु खाने चलन छ, तर हामी चिकित्सकहरुले एक छाक मासु खायो भनेपनि बीचमा ग्याप राखेर खाने, सकेसम्म एक दिन ग्याप राखेर खाने भन्ने छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चिल्लो परिकार अलिक कम गर्न सुझाव दिएका छन् । डा. भट्टराईले भुटेको भन्दापनि झोल मासु बढि स्वस्थकर हुने बताए । उनले बासी खाना नखान पनि सुझाव दिएका छन् । खानपिन अव्यवस्थित हुँदा स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै उनले सावधानी अपनाउनपनि आग्रह गरेका छन् ।