नेपालको प्रशासनको डिएनए नै परिवर्तन गर्नुपर्छ, अर्थमन्त्रीले आँफैलाई टेष्ट गर्ने बेला हो –मैनाली (भिडिओ सहित)


काठमाडौं, १५ असोज । नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले प्रशासनिक सेवा सुधारको लागि अहिले राम्रो अवसर रहेको बताएका छन् । विगतकालमा प्रशासन सेवामा सुधार नभएको उनको गुनासो छ । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछि प्रविधियुक्त माग राखिएको स्मरण गराए ।

उनले भने,‘पहिला त प्रशासनको डिएनए नै परिवर्तन गर्नुपर्छ । प्रशासनले जहिल्यै व्यवसायिक सदाचारिता देखाउन सकेन । प्रशासनको रि–ओरियन्टेसन गरिनुपर्छ । नेतृत्व छनौटको प्रक्रिया सुधार गर्नुपर्छ । जनतालाई कति चिक्त बुझायो भनेर उसको मूल्यांकन गर्नुपर्छ ।’ अहिलेका अर्थमन्त्री रामेश्वर खनालसामू आफूले अघि सारेका सुझाव कार्यान्वयन गर्ने चूनौति रहेको पनि उनले स्मरण गराए ।

उनले भने,‘हिजो विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा उहाँले दिएको सुझाव छ, त्यो अब आँफैले कार्यान्वयन गर्ने हो । उहाँले सक्नुभएन भने अब उहाँको क्षमतामाथि पनि प्रश्न उठ्छ । उहाँ त हिजोको अर्थसचिव पनि हो ।’ उनले अहिलेका अर्थमन्त्री खनालसामू आफूले दिएका सुझाव कत्तिको कार्यान्वयनयोग्य छन् भनेर आँफैलाई टेस्ट गर्ने बेला रहेको बताए ।