जीवित देवीले ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने


काठमाडौं, असोज १६ । कुमारी आर्यताराले आज सर्वसाधारणलाई दशमीको टीका लगाइदिने भएकी छिन् । महानवमीको रातमा तलेजु भवानीको दर्शन गरेपछि उनले अहिले विहान ११ बजेपछि सर्वसाधरणलाई दशमीको टीका लगाइदिने छिन् ।

जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ । तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।

साढे दुई वर्षीया कुमारी आर्यतारा यहि मंगलबार राजकीय जीवित देवी नियुक्त भएकी हुन्। उनी शाक्य समुदायका १६ बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् । उनी महाअष्टमीको अवसरमा ऐतिहासिक कुमारी घरमा पूजनीय भएकी छन् । आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् ।

कुमारीलाई हिन्दु देवी तलेजुको जीवित अवतार मानिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । काठमाडौंमा जस्तै ललितपूरको पाटन ,बुंगमती ,काठमाण्डौको टोखा र भक्तपुरमा पनि कुमारीको व्यवस्था गरिन्छ। नेवार समुदायमा परापुर्वकालदेखि नै कुमारी देवीको पुजा गर्ने परम्परा रहेपनि तत्कालीन राजा जयप्रकाश मल्लले काठमाण्डौमा रहेको कुमारी घरको स्थापना गरेको बताइन्छ ।