टीकापुर, १६ असोज । कैलालीका विद्यार्थीहरू दसैँतिहार बिदालाई सिर्जनशील बनाउने तयारीमा छन् । लामो समय हुने बिदामा कक्षामा हुने औपचारिक सिकाइ बन्द भए पनि अनौपचारिक सिकाइका लागि सिर्जनशील काममा लाग्ने उनीहरूको योजना छ । यस अवधिमा व्यवहारिक ज्ञान सिक्नुका साथै खेल, सङ्गीत, मनोरञ्जनमा समय बिताउने तयारीमा रहेको विद्यार्थीहरू बताउँछन् ।
विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी कृष्टिनी पोखरेल दसैँमा नयाँ काम सिक्ने, सामाजिक काममा सहभागी हुने, ज्ञानमूलक चलचित्र हेर्ने, नयाँ पुस्तक पढ्ने तयारी रहेको बताउँछन् ।
“गृहकार्यसँगै टोल विकास संस्थामार्फत समाजमा हुने हरेक कार्यमा सहभागी हुनेछु । आमाले लैङ्गिकता बुझाउने फिल्म देखाउछु भन्नुभएको छ । यसपटक मदन पुरस्कार विजेता पुस्तकसहित चार थान नयाँ पुस्तक पनि किनेको छु । त्यही अध्ययन गर्छु”, उनले भने ।
विद्यार्थी नेहा उपाध्याय पनि पढाइलाई सिर्जनशील बनाउने र दसैँ तिहारबारे ज्ञान लिने बताउँछन् । “यसपटक मैले अभिभावकसंँग नवमीको विशेषता, टीका जमराको महत्त्वबारे ज्ञान लिनेछु”, उनले भने, “किताबमा पढेका तर व्यवहारिक अभ्यास नगरेका आफूलाई रुचि लागेका केही काम सिक्ने योजना पनि बनाएकी छु ।”
दसैँतिहारको लामो छुट्टी विद्यार्थीका लागि कक्षा कोठामा सिकेका र छुटेका कुराहरू सिक्ने अवसर पनि हो । साथीसङ्गी, परिवार र आफन्तसँग रमाउनुका साथै सिकेका कुरालाई पुनरावलोकन गर्ने, अझ मजबुत गर्ने र जीवनोपयोगी सीप सिक्न समय पनि हो यो ।
विद्यार्थी भरना ढुङ्गाना आफू पनि पढ्ने र भाइबहिनीलाई गृहकार्य गराउने, घरको काममा सघाउने र सिक्ने योजना रहेको बताउँछन् । उनले भने, “एक महिना भनेको पर्याप्त समय हो । यो समयमा आफन्त भेटघाटका लागि पनि समय छुट्याएको छु । त्यसबाहेक भान्छामा सिकाइ र नयाँ कुरा सिक्न समय खर्चिरहेको छु ।”
कर्णाली मावि टीकापुरका शिक्षक यज्ञ विश्वकर्मा चाडपर्वको लामो बिदालाई मनोरञ्जनमा मात्रै सीमित नगरेर नयाँ कुरा सिक्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिन्छन् । यसबेला पारिवारिक जमघट हुने भएकाले आफन्तसँग भेटघाट, सांस्कृतिक ज्ञान आदानप्रदान र आफूमा भएको प्रतिभा सिक्नेगरी योजना बनाउनुपर्नेमा उनको जोड छ ।
“दसैँतिहारको बिदालाई मनोरन्जन, घुमघाम गर्दै आफूलाई मन लागेको सीप सिक्ने, पढाइलाई थप सुधार गर्ने र दिइएका गृहकार्य आफ्नै प्रयासले गर्ने गरे बिदाको सदुपयोग हुन्छ”, शिक्षक विश्वकर्माले भने ।
कर्णाली मावि टीकापुरले विद्यार्थीसँगै अभिभावकलाई पनि बिदाको समयमा पढाइसँगै बालबालिकालाई घरायसी र सामाजिक काममा सक्रिय गराउन पत्रसमेत पठाएको जनाएको छ ।
प्रधानाध्यापक धर्मराज शर्माले भने, “साना कक्षाका बालबालिका एक महिनापछि पढेका सबै कुरा बिर्सिएर आउने भएकाले यसपटक अभिभावक बोलाएर घरमा अध्ययनका लागिसमेत समय दिन अनुरोध गरेका छौँ । सामाजिक सञ्जालको प्रयोगबाट टाढा राख्न खेतबारी र प्रकृतिसँग रमाउने वातावरण बनाउन तथा सांस्कृतिक ज्ञानका लागि सहजीकरण गर्न भनेका छौँ ।” रासस




प्रतिक्रिया