आज चार प्रदेशका यी नदीमा बहाव बढ्न सुरु हुने


काठमाडौं, असोज १८ । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ। विभागले शुक्रबारसम्म भने देशका सबै प्रमुख नदीहरूमा जल सतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ।

विभागका अनुसार आज दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने छ । आज नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

त्यस्तै, आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा उल्लेख बहाव बढ्ने छ ।