राजमार्ग सुरक्षित नभएसम्म सार्वजनिक सवारी चल्न दिदैनौ : प्रहरी प्रवक्ता


काठमाडौं, असोज १९ । सरकारले राजमार्ग सुरक्षित नभएसम्म सार्वजनिक सवारी चलाउन नदिने भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भू–भागका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध रहेकाले अत्यावश्यक बाहेकका काममा ननिस्कन सरकारले आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले विभिन्न राजमार्गमा अवरोध जारी रहेकाले तत्काल यात्राका लागि घरबाट ननिस्कन आग्रह गरेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले तत्काल कनुैपनि सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले यात्राको तयारीमा नलाग्न आग्रह गरे ।

उनले भने, ‘अत्याधिक वर्षापछि आएको बाढीले रसुवामा चार जना आन्तरिक पर्यटक बगाएको छ । अहिलेको अवस्थामा प्रहरीले मानविय क्षति न्यूनिकरणको लागि जोखिमपूर्ण यात्रामा रोक लगाएको छ । विभिन्न राजमार्गमा थुप्रिएको पहिरो सफा नगरेसम्म प्रहरीले आवागमन खुला गर्दैन् । मौसम अनुकुल हुँदै गएपछि आवागमन खुला गरिनेछ ।’

लगातारको वर्षाका कारण बाटो अवरुद्ध भएपछि सरकारले दुुई दिन सार्वजनिक बिदा दिएकाले बताउँदै उनले अझै जोखिम कायमै रहेकाले यात्रामा ननिस्कन आग्रह गरे । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा केही प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको र कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ११ बजेसम्म भक्तपुरको साँगा, कान्तिलोकपथको टाकुचे, फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको महालक्ष्मी खोला, बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी खोला, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको चारकिलो, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा सवारी आवागमन रोकिएको छ ।