प्रधानमन्त्री कार्कीलाई ऋषि धमलाको प्रश्न : भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आयोग खोई ?


काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले जेन–जी पुस्ताको भावना समेट्नेलाई अहिलेको मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने माग गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा जेन–जी आन्दोलनका घाइतेहरुले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

जेन-जी आन्दोलनका एजेण्डा स्थापित गर्नसक्ने र भ्रष्टाचारीहरुलाई कारबाही गर्नसक्ने मान्छे सरकारमा सहभागी हुनुपर्ने धमलाको जोड छ । उनले भने,‘आज हाम्रो देशमा भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्नुपर्यो, एक्सन गर्नुपर्यो । यो देशको युवाहरुको माग हो । यो देशको तीन करोड जनताको माग हो, भ्रष्टाचारीलाई नछोड । २०४६ सालयता देशको नेतृत्वमा बसेका सबैको सम्पत्ति छानबिन गर, सार्वजनिक गर ।’

वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई समेत धमलाले भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग अहिलेसम्म किन नबनाएको भनेर प्रश्न गरे । उनले भने,‘प्रधानमन्त्रीज्यू, भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग खोई ? किन बनेन आयोग ? यो जनताको प्रश्न हो, जेनजी पुस्ताको प्रश्न हो, घाइतेहरुको प्रश्न, यो सरकार जेनजीहरुले बनाएको सरकार हो ।’ जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई समेत कारबाही गर्न धमलाको आग्रह छ ।

उनले भने,‘जेनजीहरुको अर्को माग भनेको जसले आन्दोलनमा दमन गर्यो, गोली चलायो, त्यसलाई कारबाही गर, नछोड ।’ जेनजीहरुले अघि सारेको प्रत्यक्ष निर्वाचन कार्यकारी प्रमुख भएकोले यसको लागि पनि गृहकार्य गर्न उनको सुझाव छ । उनले भने,‘यो देशमा एउटा प्रत्यक्ष निर्वाचित कार्यकारीले पाँच वर्ष काम गर्न पाउनुपर्छ । अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले पाँच वर्ष काम गर्न पाएन, अनि देश विकास कसरी हुन्छ ?’