क्यालिफोर्निया, २० असोज । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आइतबार (स्थानीय समय) राष्ट्रपति श्री डोनाल्ड ट्रम्पको पोर्टल्यान्डमा तीन सय नेसनल गार्ड सेना तैनाथ गर्ने ‘गैरकानूनी प्रयास’ लाई एक सङ्घीय न्यायाधीशले रोक लगाएको बताएका छन् ।
“एक सङ्घीय न्यायाधीशले ट्रम्पको पोर्टल्यान्डमा तीन सय राष्ट्रिय गार्ड सदस्य पठाउने गैरकानूनी प्रयासलाई अवरुद्ध गरे । अदालतले हाम्रो अस्थायी प्रतिबन्धको मागलाई स्वीकृति दिएको छ — कुनै पनि राज्यबाट ओरेगनमा कुनै महासङ्घ वा गार्ड सदस्यको नियुक्ति गर्न पाइने छैन । राष्ट्रपतिको शक्तिको दुरुपयोग अब स्वीकार्य हुने छैन”, गभर्नर न्युसमले एक्समा लेखे।
अदालतको अघिल्लो आदेशले उनलाई ओरेगनको आफ्नै गार्ड सेना परिचालन गर्नबाट रोकेपछि, क्यालिफोर्नियाका गार्ड सदस्यहरूलाई ओरेगन पठाउन ट्रम्पले आदेश दिएपछि यो निर्णय आएको हो ।
“सङ्घीय अदालतले ओरेगन नेसनल गार्डलाई सङ्घीय बनाउने ट्रम्पको प्रयास रोकिदिएपछि उहाँले अब तीन सय क्यालिफोर्निया गार्ड सदस्यहरूलाई ओरेगनमा पठाइरहनुभएको छ । ती सैनिकहरू अहिले त्यहाँ जाँदैछन्”, गभर्नर न्युसमले अर्को पोस्टमा भने, “हामी यो लडाइँलाई अदालतमै फर्काइरहेका छौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको यस्तो लापरवाह र अधिनायकवादी व्यवहारका अगाडि जनता मौन रहन सक्दैनन् ।”
पेन्टागनका अनुसार, क्यालिफोर्नियामा सेवा गरिरहेका करिब दुई सय गार्ड सदस्यलाई पहिले नै पोर्टल्यान्डमा पुनः नियुक्त गरिएको छ र थप एक सय जना पछि पठाइने अपेक्षा गरिएको सिएनएनले जनाएको छ ।
ओरेगनकी गभर्नर टिना कोटेकले शनिबार करिब एक सय गार्ड सदस्य पुगेको र आइतबार थप सैनिकहरू आइपुगेको पुष्टि गरे ।
ओरेगनको अमेरिकी जिल्ला अदालतकी न्यायाधीश करिन इमर्गुटले एक दिनअघि नै ट्रम्प र रक्षा मन्त्रालयलाई दुई सय ओरेगन गार्ड सदस्यलाई ६० दिनका लागि परिचालन गर्नबाट रोक्ने अस्थायी आदेश जारी गरेका थिए । उनले आदेशमा राष्ट्रपति ट्रम्पले आफ्नो संवैधानिक अधिकार नाघेको हुनसक्छ भन्ने निष्कर्ष अदालतले निकाल्ने अपेक्षा छ भनी लेखेका थिए ।
ट्रम्पले आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) सुविधा बाहिर भएका विरोध प्रदर्शनहरूको जवाफ दिन पोर्टल्यान्डमा नेसनल गार्ड सेनाको आवश्यकता रहेको बताएका थिए । उनले सिकागोसहित अन्य डेमोक्रेटिक नेतृत्वका सहरहरूमा पनि गार्ड युनिट पठाउने योजना बनाएका छन् । इलिनोइसका गभर्नर जे।बी। प्रिट्जकरका अनुसार ह्वाइट हाउसले त्यहाँ पनि तीन सय गार्ड सदस्य तैनाथ गर्ने तयारी गरिरहेको छ ।
यस वर्षको सुरुमा आप्रवासन प्रवर्तनविरुद्धका प्रदर्शनका क्रममा राष्ट्रपति ट्रम्पले करिब पाँच हजार नेसनल गार्ड र अमेरिकी मरीन सैनिकहरू लस एन्जलसमा पठाएक थिए । पछि एक सङ्घीय न्यायाधीशले ती बलहरूलाई घरेलु कानून प्रवर्तनका लागि अवैध रूपमा प्रयोग गरिएको ठहर गरेका थिए, यद्यपि उक्त निर्णय अहिले अपीलमा रहेको बताइएको छ । रासस




प्रतिक्रिया