प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर हुन्छ भन्ने मान्यता राख्नुपर्छ: राजेन्द्र बजगाईं


काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले जेनजी प्रदर्शनका क्रममा दमन गर्ने सरकारलाई तत्काल कारवाही अगाडी बढाउनुपर्ने बताएका छन् । वर्तमान सरकार गठन भएको एक महिना पुग्न लाग्दासमेत जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने तत्कालिन सरकार प्रमुख केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक अझै कारवाहीको दायरामा आउन नसक्नु दुःखको कुरा भएको उनले बताए ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले युवामाथि प्रहार गरेका प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर रहेकाले यसमा सिपाहीको दोष नरहेको बताए ।

उनले भने, प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर हुन्छ भन्ने मान्यता हुन्छ । प्रदर्शनका क्रममा निर्दोश विद्यार्थीको टाउको मै ताकेर गोली प्रहार भएको छ । प्रदर्शनमा नागरिकको ज्यान गइसकेपछि तत्काल गृहमन्त्री घटनास्थलमा जानु पर्थ्यो । प्रदर्शनका क्रममा भएको दमन वा हत्याको जिम्मेवारी प्रहरी सिपाईको टाउकोमा हाल्नु हुँदैन् । तिनकुने घटनाबारे जाँचबुझ आयोगले ओली नेतृत्वको सरकारलाई कतै दोष दिएको प्रतिवेदन आएको भए अहिले सबै सजग हुन्थे । यति ठूलो दमनबारे जेनजी मात्रै नभएर आम नागरिकले प्रत्येक गोलीमा प्रधानमन्त्री र गृहमन्त्रीको हस्ताक्षर हुन्छ भन्ने मान्यता राखेका छन् ।’

जेनजी प्रदर्शनबाट भएको धनजनको क्षतिसहित सम्पूर्ण जिम्मेवारी ओली नेतृत्वको सरकारले लिनुपर्ने उनले बताए । सरकार जनताको प्रतिनिधि भएपनि गृहमन्त्री लेखकले बाढीले नागरिकलाई बगाउदा भिजिविलिटी छैन भनेर पन्छिएको, तिनकुने घटनामा नागरिकको ज्यानै जादा समेत गृहमन्त्रीले किन जिम्मेवारी लिएनन? विमानस्थल नजीक किन प्रर्दशन गर्न दिईयो भन्नेबारे सरकार जिम्मेवार नभएर निरंकुश बनेको उनको भनाईछ ।

ओली नेतृत्वको सरकारका कारण नेपाली नागरिकले थुप्रै देश जानबाट बन्चित बन्न पुगेको बताउँदै उनले जेनजी प्रदर्शनपछि देशभरका जेलबाट भागेका कैदी बन्दीका कारण धेरै देशले नेपाललाई भिसा नदिने निर्णय गरेको उनले दाबी गरे ।