ओली, लेखकलगायतले प्रमाण मेटाउन सक्छन्, यिनीहरुलाई तत्काल पक्राउ गरिनुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)


काठमाडौं, २१ असोज । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जी आन्दोलनका क्रममा तत्कालीन राज्य पक्षबाट मानव हत्या भएको र यस्तो प्रकारको हत्या अदण्डित रहन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले जेन–जी आन्दोलन दबाउने निहुँमा जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका हुन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले जेन–जीहरुहको आन्दोलनमाथि एकदमै क्रुरतापूर्वक, बर्बरतापूर्वक, विधिको शासनलाई उल्लङ्घन गरेर, अन्तर्राष्ट्रिय मानवअधिकार कानूनलाई उल्लङ्घन गरेर दमन गरिएको बताए । उक्त घटनाको अनुसन्धान र अभियोजन गर्ने पहिलो ड्युटी प्रहरीको रहेको बताउँदै उनले भने, ‘यसको अनुसन्धान, अभियोजन गर्ने प्राइमरी ड्युटी भनेको प्रहरीको हो । प्रहरीले नै यसलाई नियमित प्रक्रियाबाट नै अनुसन्धान अगाडि बढाइनुपर्छ । यिनीहरु (केपी शर्मा ओली, रमेशलेखकलगायत) लाई तत्काल गिरफ्ता गरिनुपर्छ ।’

जेन–जी आन्दोलनका क्रममा भएको दमनको सन्दर्भमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानविन गरिरहेको अवस्थामा पनि ओली, लेखकलगायतलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाउन मिल्ने उनले बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले जेन–जी आन्दोलनका क्रममा भएको दमन फौजदारी अनुसन्धानको विषय भएको भन्दै त्यसलाई स्थगित गर्न नमिल्ने बताए ।

‘यो गम्भीर अपराध भएको छ । यत्रो गम्भीर अपराध गर्ने व्यक्तिहरु कोही पनि दण्डको दायरामा आएको छैन । राज्यको पहिलो दायित्व नै के हो भने अपराधमा संलग्न भएका व्यक्तिहरु चाहे जोसुकै हुन्, चाहे प्रधानमन्त्री हुन्, चाहे मन्त्रिमण्डलको व्यक्तिहरु हुन्, तिनीहरुलाई न्यायको कठघरामा उभ्याउनै पर्छ । कानूनले पनि त्यही भन्छ । यो अपराध जुन घटेको छ, यो अदण्डित रहनु हुँदैन । यो नियमित फौजदारी अनुसन्धानको विषय हो,’– उनले भने ।

ओली, लेखकमात्रै नभएर त्यो बेलाका सीडिओ, गृहसचिव र चेन अफ कमाण्डमा रहेका सबैलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने उनको माग छ । ओली, लेखकलगायत शक्तिशाली व्यक्ति रहेको र उनीहरुले प्रमाणहरु मेटाउन सक्ने सम्भावना पनि प्रवल रहेको भन्दै उनले तत्काल पक्राउ गरिनु्पर्ने बताए । ओली, लेखकलगायतलाई कारबाही नगरिँदा राज्यमाथि नागरिकको विश्वास पनि सिर्जना हुन नसकेको उनले बताए । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनका लागि पनि ओली,लेखकलगायतलाई पक्राउ गरिनुपर्ने उनले बताए ।

ं‘निर्वाचन सम्पन्न गराउनको लागि पनि यिनीहरुलाई नियन्त्रणमा लिनु जरुरी छ । यिनीहरुले चुनाव भाँड्नेछन् । यिनीहरुले अहिले पनि धम्की दिइराखेका छन् । उनीहरुलाई अलिकति अपराध बोध पनि छैन, लज्जाबोध पनि छैन,’– उनले भने ।