काठमाडौं, २१ असोज । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेन–जी आन्दोलनपछि देशमा जनताहरु खुशी नै रहेको टिप्पणी गरेका छन् । नेपालका युवाहरुले देशलाई नयाँ कोर्समा लगेको उनको भनाई छ । हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले देशलाई सही ट्रयाकमा ल्याउनको लागि अहिले ठूलो अवसर आएको बताए । जेन–जी युवाहरु राजनीतिसँग जोडिनुपनि सुखद् भएको उनको टिप्पणी छ । उनले भने,‘यो पुस्ता देशको बारेमा चिन्तित रैछन् । देशलाई नयाँ दिशा दिन सक्षम पनि रहेछन् । आफ्नै देशमा भविष्य खोज्न सक्छौं भनेर देखाईदिए ।’
जेन-जी आन्दोलन सफल भएपछि यो पुस्ता नयाँ नेपाल बनाउनको लागि चुकेको उनको टिप्पणी छ । उनले वर्तमान सरकारसँग निर्वाचनमात्रै म्याण्डेट नभएको भन्दै भ्रष्टाचारीहरुलाई कारबाही गरिनुपर्ने बताए । देशमा दण्डहिनता र भ्रष्टाचार यही सरकारले रोक्न सुरु गरोस भन्ने उनको सुझाव छ ।
फरक प्रसंगमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट पार्टी र देश नचल्ने ठोकुवा गरे । उनले देउवा नेतृत्वमा हुँदा लोकतन्त्रसमेत नबाँच्ने दाबी गरे । उनले भने,‘शेरबहादुर देउवाबाट कांग्रेसपनि चल्दैन, देश चल्दैन, लोकतन्त्रपनि बाँच्दैन । कहिले यीनले राजालाई बुझाउँछन्, कहिले ओलीलाई बुझाउँछन् । कहिले आँफै अपमानित भएर निस्किन्छन् ।’ उनले अहिले कांग्रेसमा लिडरसिपको क्राइसिस रहेको र एमालेमा सर्भाइभल क्राइसिस रहेको टिप्पणी गरे । विगत एक दुई वर्षदेखि नै एमाले पार्टी विघटनतर्फउन्मुख रहेको उनको दाबी छ ।




प्रतिक्रिया