काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न चाहने महाधिवेशन प्रतिनिधिहरुलाई आगामी असोज २४ गतेभित्र नै हस्ताक्षर गरिसक्न आग्रह गरेका छन् । उनले आगामी असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकपछि गरिने हस्ताक्षरलाई ‘लगनपछिको पोते’ को संज्ञा दिएका छन् । उनले विशेष महाधिवेकनले पार्टीलाई कमजोर नभएर अझ बलियो बनाउने दाबी गरेका छन् ।
‘विशेष अधिवेशनसम्बन्धी व्यवस्था नेपाली कांग्रेस पार्टीको विधानविपरीत विलकूल होइन । जब पार्टीको विधानमै यससम्बन्धी व्यवस्था छ भने त्यसको प्रयोग गर्दैगर्दा त्यसले कमजोर होइन, अन्ततः पार्टीलाई बलियो बनाउँछ,’– उनले भनेका छन् ।
महामन्त्री शर्माले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने नै हो भने असोज २६ गतेको केन्द्रीय समिति बैठक नकुर्न भनेका छन् । उनले भनेका छन्, ‘हस्ताक्षर नै गर्न चाहुनभएको छ त आइतबार किन बार्नुहुन्छ ? लगनपछिको पोतेको के काम ? हस्ताक्षर गर्न चाहनुहुन्छ भने चाहिँ २४ गतेभित्रै गर्नुस् ।’
महामन्त्री शर्माले अहिलेको विषम परिस्थितिमा जमेको पोखरीजस्तो बसिरहन कांग्रेसले नचाहेको बताएका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरको हस्ताक्षरमा केन्द्रीय समितिले विशेष महाधिवेशनबारे निर्णय लिने उनले बताएका छन् ।




प्रतिक्रिया