काठमाडौं, २१ असोज । सरकारले दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै शाही युवा शक्ति नेपालले आपत्ति जनाएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले उक्त क्षेत्रको निषेधाज्ञा खोल्न आग्रह गरेको छ ।
साथै, अगामी असोज २५ गते शाही युवा शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजगद्दीमा बसाउनका लागि आन्दोलन गर्ने पनि बताइएको छ । यस पटक सामाखुसीबाट सुरु हुने प्रदर्शन नारायणहिटीमा आएर राजालाई राजगद्दीमा राख्ने बताइएको छ ।
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजा नहुँदा देश धेरै जटिल मोडमा पुगेको बताए । उनले अबको निकास निर्मल निवास रहेको दाबी गरे । उनले जेन–जी पुस्ताले गरेको आन्दोलनलाई युगान्तकारी र ऐतिहासिक परिवर्तनको संज्ञा दिए । जेन–जी आन्दोलनमा घुसपैठ भएको कारण मरेको संविधान र भागेका राष्ट्रपति बचाउने काम भइरहेको उनले बताए ।
‘वास्तविक जेन–जीहरुको चाहना भनेकै राजाको पुनर्स्थापना हो भन्ने कुरा अहिले गोली खाएका घाइतेहरुले प्रष्ट पारिसक्नु भएको छ । जेन–जी आन्दोलनका दुई हजारभन्दा बढी घाइतेहरु छन् । जेन–जी आन्दोलनको रगतमा बनेको यो सुशीला कार्कीको सरकारले एक महिना वितिसक्दा पनि ज्यानमारा, अपराधी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन समाउन नसकेको ? यो सरकार किन डराएको ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया