काठमाडौं, असोज २२ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले सुरक्षित रुपमा पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । पञ्चायतको यातनादेखि जेनजी समुहबाट भएको साङघातिक दुर्व्यवहारसम्मको राजनीति यात्रामा देउवाको ठूलो संघर्ष र योगदान रहेको बताउँदै उनले अव ६० वर्षको राजनीतिक सक्रियतालाई विश्राम दिदै सुरक्षित रुपमा पार्टी नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले वर्तमान पार्टी सभापति देउवाले दुरदर्शिता अपनाएर देश र पार्टीमा उत्पन्न संकटलाई सम्बोधन गर्नेगरी आफूपछिका नेतालाई सुरक्षित रुपमा नेतृत्व हस्तारन्तरण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिलेसम्म विश्वासपूर्ण तरिकाले पार्टी पनि चलेन, देश पनि चलेन । पार्टी पनि सिमित व्यक्तिले चलाए । देश पनि सिमित व्यक्तिले चलाए । जसका कारण आज यो अवस्था आयो । अहिलेको परिस्थिति कसरी आयो भन्नेबारे गम्भिर भएर आत्मसमिक्षा गरेर सभापतिले बाटो खुला गरिदिनुपर्छ ।’
जेनजी आन्दोलन जनताको भावनालाई कुल्चेर अघि बढ्दाको परिणाम भएको उनको भनाई छ । राजनीतिक संयन्त्र, पार्टी र देशभित्र व्याप्त भ्रष्ट्राचारका कारण अहिलेको अवस्था आएको बताउँदै उनले व्यवस्था फेरिएपनि प्रवृत्ति उस्तै रहेको र नेताको भ्रष्ट चरित्रसमेत उस्तै रहदा जनमत र जनभावनको कदर हुन नसकेको धारणा राखे ।
उनले भने, ‘हामीले २०५१ देखि भ्रष्ट्राचार विरुद्ध खवरदारी गर्दै आएका छौ । तर, हाम्रो कुरा राज्य र पार्टीले सुनेन् । पछिल्लो तीन दशकमा व्यवस्था फेरिएपनि जनताको अवस्था फेरिएन् । नेताहरुको भ्रष्ट चरित्र फरिएन् । पार्टी भित्र भ्रष्ट्र चरित्र भएका नेता हावी भए । सिमित व्यक्तिको हातमा पार्टी गयो । विधि र पद्धतिले काम नगर्दा धुमिफिरि एउटै व्यक्ति राजनीति र शासनको केन्द्रमा रहेकाले जनभावना र जनमतको कदर हुन सकेन् । पार्टीहरु पार्टी जस्ता भएनन्, सरकार-सरकार जस्तो भएन् ।’
जेनजी आन्दोलनका क्रममा भएको दमनबारे तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै उनले भदौ २३ गते भएको घटनाबारे छानविन हुनुपर्ने धारणा राखे ।




प्रतिक्रिया