कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन, छानविन उहाँबाटै सुरु गरौंः महेश बस्नेत


काठमाडौं, २२ असोज । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कुलमान घिसिङजत्तिको भ्रष्टाचारी आफूले अरु कोही पनि नदेखेको टिप्पणी गरेका छन् । आज (बुधबार) पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको छानविन गर्ने सन्दर्भमा सबैभन्दा पहिला हालका मन्त्रीहरु घिसिङ र रामेश्वर खनालबाट सुरु गर्नुपर्ने बताएका हुन् । आफू्रहरु भ्रष्टाचारको सवालमा हुने छानविनलाई सघाउन तयार रहेको पनि उनले बताए ।

‘भ्रष्टाचारीहरुलाई मैले अघि पनि भनेँ– सबैभन्दा पहिलो छानविन कुलमानजीबाट गरौं । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन । मैले धेरै अगाडिदेखि भनेको हो । रामेश्वर खनालजीबाट सुरु गरौं । उहाँ बालकोटमा नै बस्नुहुन्छ । मेरो छिमेकी हो । पूर्व अर्थसचिव हो । विदाको दिन सरकारी गाडी प्रयोग गरेवापत युवा संघले खोस्दा लौन महेशजी बजेट बनाउने प्रक्रियामा छौं भनेर उहाँ हामीसँग अनुरोध गरेकै मान्छे हो । रामेश्वरजीबाट सुरु गरौं । जहाँसम्म हाम्रो कुरा छ– मैले अघि पनि भनेँ हामी छानविन गर्नलाई सहयोग गर्न तयार छौं,’– उनले भने ।