काठमाडौं, २२ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढी र डुवानको मारमा परेको मधेशलाई केन्द्र सरकारले पूरै बेवास्ता गरेको बताएका छन् । आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मधेश अझैपनि बाढी र डुबानको मारमा रहेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखिएको बताएका हुन् ।
‘म अविरल वर्षा हुँदा गृहजिल्लामा थिएँ । मधेश पूरै बाढी, डुवान र कटानको मारमा थियो । तर, केन्द्र सरकार कतैपनि देखिएन । बरु स्थानीय सरकारको उपस्थिति देखियो । तर, केन्द्र सरकारको कुनैपनि उपस्थिति देखिएन । म कुलमानजीलाई सोध्न चाहन्छु–के देश भनेको काठमाडौं महानगरमात्रै हो र ? यदि होईन भने तपाईंको निकाय किन मधेश बाढी, कटान र डुवानको मारमा हुँदा देखापरेनन् ?’
साहले उर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङलाई प्रश्न गरे, ‘मधेशमा नदीका बांधहरू भत्किरहदा तपाईको नदी नियन्त्रणको हाकिम किन देखा परेन । राजमार्गहरू भत्केर आवागमन अवरुद्ध हूदा सड़क बिभाग किन आएन । पूरै सहर दुवान हुदा शहरी बिभागको किन सक्रिय भएन ? के देश भनेको काठमाडौं महानगरमात्रै हो ? हैन भन्ने कुलमानजी तपाई एकपटक मधेश डुबेको हेर्न आऊनूस् । तपाई जस्तो व्यक्तित्व सरकारमा सहभागी हुँदा जनताले उत्साह महशुस गरेको भएपनि अहिले विपद्को बेलामा काठमाडौंकेन्द्रित मात्रै हुँदा धेरै जनताले विभेदको महसुस गरेको छ ।’
अविरल वर्षाको कारण सिंगो देश नै विपद्मा हुँदा सरकार काठमाडौंमा मात्रै देखिएको आजपनि मधेश पूरै डुबानको मारमा रहेको र खानेपानी, विजुलीलगायतको समस्या भोगिरहेको उनले बताए । ‘मधेश मुख्य मुख्य शहरहरु अहिलेपनि डुवानमा छन् । यस्तो बेलामा सरकार देखिनुपर्ने होईन ? खोई तपाईंहरुको उपस्थिति ?’ प्रश्न गर्दैै उनले भने ।
उनले बाढीको कारण मधेशमा बाँध भत्किएको, कयौं बाटोरघाटो भत्काएको अवस्था हुँदापनि सरकार नदेखिनु मधेशलाई बेवास्ता गर्नु भएको टिप्पणी गरे । मन्त्री घिसिङ नेतृत्वका मन्त्रालयहरु नै प्रत्यक्ष सरोकार राख्ने भएकोले विपद्को बेलामा जनताले साथ खोजेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखेपछि जनतामा एक किसिमको आक्रोश रहेको उनको भनाई छ ।
प्राकृतिक विपत्तिको सबै तहका सरकारले मिलेर सामना गर्ने भएपनि केन्द्र सरकार उद्धार, राहत र पूनर्स्थापनाको लागि मधेशमा नदेखिनु दुःखदायी भएको उनको आरोप छ । अहिले पनि कतिपय राजमार्गमा सडक सञ्जाल अवरुद्ध भएको र दुर्घटनाका घट्नाहरु बढ्न थालेको नेता साहले बताए ।




प्रतिक्रिया