काठमाडौं, २३ असोज । राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनालले देश यो अवस्थामा पुग्नुको जिम्मेवारी शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो बीचमा प्रधानमन्त्री भएकाहरु कुनै न कुनै रुपमा दोषी भए पनि सबैभन्दा बढी जिम्मेवार देउवा, ओली र प्रचण्ड रहेको बताएका हुन् ।
‘यो बीचमा जति पनि प्रधानमन्त्री भए, ती सबै कुनै न कुनै रुपबाट दोषी छन् । सबैभन्दा बढी दोषीको रुपमा हामीले तीन जनाको नाम लिनुपर्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड । तीन जनाले प्रमुख जिम्मेवारी लिनुपर्छ,’– उनले भने ।
देशमा भएका ठूला–ठूला घोटलामा समेत सबै मिलिभगत रहेको उनको दाबी छ । जेन–जी नवयुवाहरुले ती घोटला र अनियमिततालाई विद्रोहमा उतारको उनले बताए । उनले अब देउवा, ओली र प्रचण्डको जनताको नेता भएर बस्ने बाटो बन्द भएको बताए । कसैले पनि यी नेताहरुलाई राम्रो नभनेको उनको टिप्पणी छ । अब उनीहरुले नेतृत्व छोड्न तयार नभए पनि जनताले छुटाइदिइसकेको उनले बताए । ‘उहाँहरुले नेतृत्व नछोडेर के गर्ने ? जनताले छुटाइदिइसके । आफैंले पालन पोषण गरेका कार्यकर्ताको मात्रै नेता भएर बस्ने हो भने बेग्लै कुरा हो । होइन जनताको नेता हुने हो भने त त्यो बाटो त सकियो उहाँहरुको,’– उनले भने ।




प्रतिक्रिया