काठमाडौं, २३ असोज । सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियानका संयोजक शंकर भण्डारीले मुलुक इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका छन् । युवा पुस्ताले लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउने मनसायका साथ आयोजना गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनको मौका छोपेर मुलुकविरोधी तत्वले देशमा वितण्डा मच्चाएको पनि उनको दाबी छ । भदौ २३ गते निर्दोष युवाहरुमाथि सरकारले घोर दमन गरेको र भदौ २४ गते जेनजीको शाीन्तपूर्ण विद्रोहको आवरणमा अराष्ट्रिय तत्वले मुलुकमा विध्वंश मच्चाएको उनको भनाई छ ।
भण्डारीले यतिवेला सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । कांग्रेस, एमाले र माओवादीले परिस्थितिको सुक्ष्म विश्लेषण गरेर दलीय स्वार्थभन्दा माथि राष्ट्रिय स्वार्थलाई शिरोपर गर्दै एकजुट भएर मुलुकलाई बचाउने प्रण लिनु जरुरी रहेको पनि उनले औंल्याएका छन् ।
उनले नेपाल सनातन हिन्दू राज्य भएको र त्यो नै नेपालको मौलिक पहिचान भएको उल्लेख गरे । हिन्दू राज्य पूनःस्थापनामा अब ढिलाई गर्न नहुने उनको तर्क छ । उनले २०४७ सालको संविधानको मूल प्रावधानलाई यथावत राख्दै यसमा समसामयिक संशोधन गरी राष्ट्रिय एकताको जगलाई थप मजबुद बनाउन सबै राजनीतिक दल तथा राष्ट्रपेमी दाजुभाई दिदीबहिनीहरुमा आह्वानसमेत गरेका छन् ।






प्रतिक्रिया