गृहमन्त्री अर्यालले राज्य चलाउने हैसियत राख्दैनन्, उनले विद्रोहको नेतृत्व गरिरहेका छन्ः एमाले महासचिव पोखरेल (भिडिओसहित)


काठमाडौं, २३ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्यालले राज्य चलाउने हैसियत राख्दैनन् भन्ने कुरा उनको अभिव्यक्तिले पुष्टि गरिसकेको बताएका छन् । आज (बिहीबार) गुण्डुमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिन दहाडै लुटपाट गर्ने, प्रहरीका हतियारहरु खोस्ने, आगजनी गर्ने र प्रत्यक्षरुपमा पहिचान भएका अपराधीहरुलाई प्रहरीले नियन्त्रण गर्न खोज्दाखेरी गृहमन्त्री अर्यालले छोड्नका लागि दवाब दिएको आरोप लगाए । गृहमन्त्री अर्यालले राज्य चलाउन खोजेको भन्दा पनि विद्रोहको नेतृत्व गर्न खोजिरहेको उनको आरोप छ ।

‘गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैनन् भन्ने कुरा उनको अभिव्यक्तिले देखाइरहेको छ । उनी साँच्चै नेपाल सरकारको गृहमन्त्री हुन् भने संविधानअन्तर्गत, कानूनअन्तर्गत अगाडि बढ्न सक्नुपर्छ । शान्ति सुरक्षा गृहमन्त्रालयको पहिलो कर्तव्य हुनुपर्छ । राज्यले प्रमाणित गरेको झण्डै–झण्डै १२÷१३ हजार अपराधीहरु जेलबाट भागेका छन् । उनीहरुलाई नियन्त्रणमा लिने कुरा गृह प्रशासनको प्राथमिकता बन्नु पर्दैन ? ठूलो संख्यामा हतियारहरु लुटिएका छन्, लुटिएका हतियारहरु फिर्ता गर्ने कुरा गृह प्रशासनको जिम्मेवारी बन्नु पर्दैन ? उनको त्यहाँ ध्यान छैन,’– उनले भने ।

लुटिएका हतियार र भागेका कैदीहरु समाजमा रहुन्जेलसम्म समाज सुरक्षित हुन नसक्ने उनले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि असुरक्षाको बोध गर्दै नेपालबाट बाह्य मुलुक जान नियन्त्रण गरेको उनले बताए । गत भदौ २४ गते घटेको घटनाले नेपालमात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय नै सशंकित बनेको उनले बताए ।

अहिलेको अन्तरिम सरकार नागरिक कर्तव्यमाथि जिम्मेवार नदेखिएको महासचिव पोखरेलले बताए । नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने कुरा सरकारको कर्तव्य रहेको उनले बताए । अहिले प्रहरी अनुसन्धानको प्रक्रियामा अगाडि बढ्न खोज्यो भने सबैभन्दा पहिलो बाधक गृहमन्त्री अर्याल बन्ने गरेको उनले बताए । गृहमन्त्री अर्याल आफैं अपराधीहरुको पक्षमा ढाल बनेर उभिने गरेको उनको आरोप छ । यस प्रकारको गृह प्रशास रहेको बेलामा शान्ति सुरक्षा कायम हुन नसक्ने र घोषित मितिमा चुनाव हुन नसक्ने उनले बताए ।

महासचिव पोखरेलले वर्तमान सरकारले राजनीतिक दलहरुलाई विश्वासमा लिएर भन्दा पनि उनीहरुलाई किनारा लगाएर चुनाव गराउने पक्षमा उभिएको बताए । उनले वर्तमान सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको तरिकाले चुनाव गराउन चाहेको आरोप लगाए । उनले सरकारले चुनावको वातावरण तयार गर्न कुनै पनि कुराको पहल कदमी लिएको अनुभूत नागरिक र राजनीतिक दलहरुले गर्न नसकेको बताए ।

‘सरकार राजनीतिक दलहरुको विश्वास जित्ने कुरामा होइन, राजनीतिक दलहरुलाई किनारा लगाएर ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अगाडि बढ्न खोजिराखेको छ । आफ्ना मान्छेहरुलाई भूमिगत गिरोहले चुनावका माध्यमबाट जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको योजनामा अध्यारो कोठामा बसेर योजना बनाउन काम भइरहेको छ । त्यस अर्थमा यो सरकार चुनाव गराउन चाहन्छ भन्ने कुरा पनि भ्रममात्रै हो,’– उनले भने ।