गृहमन्त्री अर्यालको सक्रियता बढ्यो, सुरक्षा निकायका प्रमुखसँग लामो छलफल


काठमाडौं, २३ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित् गृहमन्त्रालयमा आज गृहमन्त्री अर्यालले नेपाल प्रहरीका आईजिपी चन्द्रकुवेर खापुङ, सशस्त्रका आईजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमखु टेकेन्द्र कार्की छलफलमा सहभागी थिए ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भने आजको छलफलमा सहभागी थिएनन् । तर, सेनाको उच्चतहको प्रतिनिधित्व थियो । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति र देशव्यापीमा रुपमा बढ्दो सुरक्षा चूनौतिको विषयमा नयाँ रणनीति तय गर्न गृहमन्त्री अर्यालले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

अहिले जेनजीहरुले भदौ २३ गते आन्दोलनमा दमन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्न दबाब बढाएका छन् । उता, एमालेनिकट अखिलले पनि काठमाडौंका मेयर बालेन शाह र हामी नेपालीका संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएका छन् ।

यस्तो अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा गृहमन्त्रीले चासो राखेर सुरक्षा निकायका प्रमुखहरुसँग लामो छलफल गरेका हुन् । आजमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असंवैधानिक भन्दै संविधान र संसद्को रक्षाको लागि निर्णायक संघर्ष गर्ने खुला चूनौति दिएका छन् ।