केभीडीएमा भूमाफियाको दबदबाः रोक्का राखिएको २७ रोपनी जग्गा काठमाडौं जिल्ला आयुक्त बस्नेतको किर्ते हस्ताक्षरमा फुकुवा


काठमाडौं, २३ असोज । काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त सुवास बस्नेतको किर्ते हस्ताक्षर गरी अवैध प्लटिङको जग्गा कित्ताकाट फुकुवा गरिएको भनी मालपोत कार्यालय टोखालाई लेखेको पत्र बाहिरिएको छ । प्राधिकरणले अवैध प्लटिङलाई रोक्न र प्लानिङ पर्मिटको दायरामा ल्याउनका लागि साविकको झोर महांकाल गाविस वडा नं. ४ को २६ कित्ताकाे करिब २७ रोपनी जग्गामा कित्ताकाट रोक लगाएको थियो ।

उक्त जग्गा प्लानिङ पर्मिटको दायरामा आउँदा कम्तिमा २० फिट चौडा बाटो र ५ प्रतिशत ओपन स्पेस नेपाल सरकारको नाममा आउने प्राधिकरणको ऐनमा व्यवस्था रहेको छ । यस विषयमा प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त बस्नेतसँग बुझ्न खोज्दा उनले उक्त पत्रमा आफ्नो किर्ते हस्ताक्षर प्रयोग भएको दाबी गरे । ‘मेरो हस्ताक्षर गरेर नक्कली पत्र तयार गरेर जग्गा फुकुवा गरेछन् । करिब २७ रोपनी जग्गा हो,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा बस्नेतले भने ।

गत असोज ९ गते जारी भएको उक्त पत्रमा प्राधिकरण काठमाडौंका आयुक्त बस्नेतको हस्ताक्षर रहेको छ । आफूले उक्त जग्गा फुकुवा गर्ने पत्रमा हस्ताक्षर नगरेको बस्नेत बताउँछन् ।