ओलीको लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको प्रचण्डको खुलासा


काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीको लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको दाबी गरेका छन् । आज (शुक्रबार) सम्पादकहरुसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले कार्कीलाई ओलीले नै प्रधानमन्त्रीमा सिफारिस गरेको बताएका हुन् ।

‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँ (ओली) हो । केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो,’– उनले भने ।
र्
एमाले अध्यक्ष ओलीले अहिलेको सरकार हावाको भरमा बनेको भनी गरेको टिप्पणीको खण्डण गर्दै उनले भने, ‘अहिले यो सरकार हावामा बन्यो भन्न मिल्छ त ? उहाँ (ओली) नै सिफारिसकर्ता हो।’

फरक प्रसंगमा प्रचण्डले आफूलाई पार्टीको प्रमुख वा अध्यक्ष नै भइराख्नुपर्छ भन्ने नरहेको बताए । उनले आफ्नो नेचर पलायन हुने, रिटायर्ड लाइफ बिताउने र निष्क्रिय बस्ने नरहेको पनि आफू नै प्रमुख बन्नुपर्छ भन्ने पक्षमा नरहेको धारणा राखे ।

‘मेरो नेचर निष्क्रिय बस्ने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन । मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन । अध्यक्ष पद, पार्टीको प्रमुख भइनै राख्नुपर्छ भन्नेमा अब म छैन । एउटा निश्चित प्रक्रियाभित्रबाबट नयाँ नेतृत्व निर्माण गर्ने र पुरानो नेतृत्वले भिन्न भूमिकामा गएर निकास दिनुपर्छ भनेर पार्टीलाई विशेष महाधिवेशनको बाटोतर्फ लगिएको उनले बताए,’– उनले भने ।