मन्त्रिपरिषद्को निर्णयः मन्त्रीहरु स्वीजरल्याण्ड र पेरुतिर जाने, एक सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणबारे वार्ता गर्ने


काठमाडौं, २४ असोज । सरकारले एसियाली विकास बैंकबाट एक सय मिलियन अमेरिकी डलर बजेटरी सहायताको रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । हिजो (असोज २३ गते) बसेको मन्त्रिपरिषद्को बैठकले ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न वार्टा टोली बनाउनेसहित विभिन्न २० वटा निर्णय गरेको हो ।

त्यस्तै, सरकारले कात्तिक ३ देखि ५ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ । पेरुको लिमामा मंसिर १० र ११ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.मदन परियारलाई स्वीकृति प्रदान गरिएको छ ।

त्यसैगरी, नेपाल विद्युत प्राधिकरणको स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऋण पत्र/ऊर्जा बण्ड चरणवद्धरुपमा निष्काशन गर्न स्वीकृति प्रदान गरिएको छ । त्यस्तै, तीन महिना अवधिका लागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको छ ।