लात्तीको डरले बालुवाटारबाट भागेका ओली गुण्डुमा गुण्डा राखेर शेर बन्न खोजेः पूर्व मन्त्री पासवान (भिडिओसहित)


काठमाडौं, २५ असोज । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानले नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हत्यारा, नरसंहारी र केटाकेटीको रगत पिचासु’ को संज्ञा दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लात्तीको डरले बालुवाटारबाट भागेका ओलीले अहिले गुण्डुमा गुण्डाहरु राखेर शेर बन्न खोजेको टिप्पणी गरे ।

‘एमाले, केपी ओली, हत्यारा, नरसंहारी, केटाकेटीको रगत पिचासु आज फुर्ती गर्ने ? लात्तीको डरले बालुवाटारबाट भागेको होइन ? अहिले गुण्डुमा गुण्डाहरु राखेर केपी ओली शेर बन्न खोजेको हो ? नयाँ पुस्तालाई फेरि उचाल्न खोजेको हो ?’ प्रश्न गर्दै उनले भने ।

नेता पासवानले देशको शान्ति, अमनचयन, समृद्धि, सुशासन र सुन्दर नेपालको परिकल्पना गरेर जेन–जी पुस्ता अगाडि बढेको बताए । उनले चुनावपछि सुन्दर देश बन्न सक्ने बताए ।

साथै, उनले कांग्रेसी युवाहरुमा तागत नदेखिएको बताए । अहिले विश्वेश्वर प्रसाद कोइराला भएको भए कांग्रेस सभापति शेरबहादुर देउवालाई सय लात्ती हानेर बैठकबाट निकालिदिने उनले टिप्पणी गरे । उनले भने, ‘आज विपी कोइराला भएको भए एक लात्ती होइन, सय लात्ती हानेर शेरबहादुरलाई निकाल्थे र बैठकमा आउन दिँदैन थिए । खोई कांग्रेसी युवाहरुको तागत ?’ File Photo/RN