सेनाको विरुद्धमा नबोल्न ओली-प्रचण्डलगायतलाई भूपू सैनिकहरुको चेतावनी, जेन-जी आन्दोलनको क्रममा सेनाको भूमिका प्रसंशनीय रहेको दाबी


काठमाडौं, २५ असोज । भूतपूर्व सैनिकहरुले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले गरेको काम कारबाहीको बारेमा समीक्षा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा अवकाशप्राप्त भूतपूर्व सैनिकहरुले आ–आफ्नो धारणा राखेका हुन् ।

समीक्षा कार्यक्रममा अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

भूतपूर्व सैनिक हेमशंकर गिरीले गत भदौ २३ र २४ गते घटेको अकल्पनीय घटनामा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको बताए । नेपाली सेनालाई लान्छना लगाउनेहरुले सच्याउन आवश्यक रहेको उनको भनाइ छ ।

पूर्व सहायक रथी रायमाझीले अहिले सेनाले सिंहदरबार, राष्ट्रपति भवन किन बचाउन सकेन भन्ने विषयलाई लिएर अहिले चर्चा परिचर्चा भइरहेको बताए । तर, गम्भीरतालाई नबुझी अहिले सेनामाथि आक्षेप लगाइएको उनको भनाइ छ । सेनामाथि लगाइएको आरोपलाई उनले अपरिपक्वताको संज्ञा दिए । सेनालाई राष्ट्रको गहनाको संज्ञा दिँदै उनले यसरी आक्षेप लगाउन नहुने धारणा राखे ।

अवकाश प्राप्त सैनिक सहदेव भण्डारीले गौरवशाली इतिहास बोकेको सेनालाई लान्छना लगाइ टीकाटिप्पणी भइरहेकोप्रति आपत्ति जनाए । उनले यो राष्ट्र नेपाली सेना र जनता मिलेर बचेको उनको भनाइ छ । ‘आज जनता र नेपाली सेनाबीचमा विवाद बनाउने काम भइरहेको छ । नेपाली सेना र जनता एक भएर यो राष्ट्रलाई जोगाउनुपर्छ,’– उनले भने ।

अवकाशप्राप्त प्रमुख सेनानी जयन्द्रवीरसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा सेनाले एउटा गल्ती गरेको बताए । त्यो दिन संकटकाल लगाएर भ्रष्ट र भ्रष्टाचारीहरु जति सबैलाई टुँडिखेलमा ल्याएर झुण्ड्याउनुपर्नेमा त्यसो नगरेर सेनाले भूल गरेको उनको टिप्पणी छ । त्यो अवसर सेनाले पाएको भए पनि देश र जनतालाई माया गरेको उनले बताए । सिंहदरबारजस्ता संरचना फेरि बनाउन सकिने बताउँदै उनले सेनाले सो प्रदर्शनमा गोली नचलाएर एकदमै बुद्धिमत्तापूर्ण काम गरेको बताए ।

अवकाशप्राप्त सेनानी बासुदेव अधिकारीले जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट सेनाले जोगाइदिएको बताए । उनले राष्ट्रलाई असर पर्नेगरी नलेखिदिन र नबोलिदिनसमेत सबैसमक्ष आग्रह गरे ।

नेपाली सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताए । ‘नेपाली सेनाले जे गर्यो, राष्ट्रको लागि गर्यो । नेपाली युवा, युवतीहरुको रगत बगाएनौं । नेपाल र नेपालीको रगत बचायौं,’– उनले भने ।

उनले सेनालाई देश बचाउने र बनाउने संस्था रहेको बताए । अहिले पश्चिमाहरुको दारुपानी खानेहरुलाई नेपाली सेना घाँडो भएको बताए । लोकराज बराल, आहुती, सिकेलाललगायतका तत्वहरु नेपाली सेनाको विरुद्धमा लागिरेहको उनको भनाइ छ । नेपाली सेनाले राम्रो काम गर्दा पदि बदनामा सहनुपरेको उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली सेनाले मेरो सत्ता खाइदियो’ भनेर आन्तरिक रुपमा पठाएको म्यासेज आफूसँग आइपुगेको पनि उनले बताए ।

उनले ओलीलाई जेलमा बसेको भाइनाइकेको संज्ञा दिए । ‘एउटा जेलमा बसेको भाइनाइकेले यो देश चलाउँदाखेरी यात्रा मान्छे मरे । सेना ओलीको दास हुनै नसक्ने बताए । ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई सेनाको विरुद्धमा बोल्नु अगाडि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मुर्ख संस्था नसोच्न चेतावनी दिए । मौका पाएको बेलामा भ्रष्ट नेताहरुलाई कासी पठाउने कि फाँसी पठाउने भन्ने निर्णय गर्नबाट भने सेना चुकेको उनको टिप्पणी छ ।