ढिलाइ संस्कृतिको अन्त्य गर्दै जनतामुखी प्रशासनिक सुधार लागू गर्न सचिवहरूलाई मुख्यमन्त्री कँडेलको निर्देशन


काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक भावना र मागलाई सम्मान गर्दै सुधारका ठोस योजनासहित काम अघि बढाउन प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग आव २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी भएका निर्णय र प्रतिबद्धताका प्रगतिसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘अब सुधारका कुरा कागजमै सीमित हुने होइन, व्यवहारमै देखिनुपर्छ, जनताले पारदर्शिता, जवाफदेहिता र सहज सेवाको अपेक्षा गरेका छन् । त्यसको प्रत्यक्ष अनुभव दिलाउनु नै हाम्रो जिम्मेवारी हो ।’

उनले कार्यालयका ढोका जनताका लागि सधैँ खुला राख्न, हरेक काममा पारदर्शिता र विश्वास कायम गर्न तथा विगतका कमजोरीबाट सकारात्मक पाठ लिएर नयाँ सोच र कार्यशैली अपनाउन आग्रह गरे । उनका अनुसार हिजोका गल्तीबाट सिकेर आज सुधारका उपाय लागू गर्नु नै वास्तविक प्रगति हो ।

उनले प्रदेश सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाह हुने स्पष्ट पारे । मुख्यमन्त्री कँडेलले भने, ‘सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको कार्यक्षमता देखाउन अब तपाईंहरूले पहल गर्नुपर्छ । तालिम, भ्रमण, गोष्ठी वा आवश्यक नभएका योजनामा हुने खर्च घटाएर वास्तविक विकासमा लगानी गर्नुपर्ने बेला आएको छ ।’

त्यस क्रममा उनले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न, सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृतिलाई अन्त्य गर्दै जनतामुखी प्रशासनिक सुधार लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिए ।