कांग्रेस अलमल र अन्योलमा नपरी नयाँ जनादेशमा जानुपर्छ : सञ्जयकुमार गौतम


काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले मुलुकलाई निकास दिनको लागि पार्टी निर्वाचनमा होमिनु पर्ने बताएका छन् । जेन–जी पुस्ताको आन्दोलनको बलमा सत्ता उल्टिएपछि पार्टी कुनै अलमल र अन्योलमा नपरी चुनावमा जानुपर्ने उनको धारणा रहेको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बसह’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले नेपाली कांग्रेस निर्वाचनबाट भाग्न नहुने बताए ।

उनले भने, ‘मुलुकलाई निकास दिन कांग्रेस निर्वाचनमा जानुपर्छ । सबै भन्दा ठूलो मुलुक हो । त्यसपछि जनता, लोकतन्त्र र पार्टी रहेकाले कांग्रेस नेतृत्वले निर्णय लिनुपर्छ । अहिले सारा नेपालीको आँखा कांग्रेसको निर्णयमा रोकिएकाले देशलाई नयाँ बाटो देखाउन कांग्रेस निर्वाचनबाट भाग्नु हुँदैन् । देशमा आमुल परिवर्तन र नयाँ जीवन दिन कांग्रेस नयाँ जनादेशमा जानुपर्छ ।’

मुलुकको राष्ट्रिय राजनीतिलाई ट्रयाकमा ल्याउन नेपाली कांग्रेसले आफूलाई सहि दिशामा उभ्याएर राजनीतिक कार्यदिशा दिन आवश्यक रहेको उनको भनाई छ । जेन-जी पुस्ताले सुशासन र भ्रष्ट्राचार मुक्त समाजको माग गर्दा सरकारले कडा दमन गरेको बताउँदै उनले आवेश र उत्तेजनाले मुलुकलाई ठूलो क्षति पुगेको बताए । आन्दोलनपछिको राजनीति र अवस्थालाई केन्द्रमा राखेर मुलुकको मागमा कांग्रेसले साथ दिनुपर्ने उनको भनाई छ ।

नेता गौतमले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट राजीनामा दिएर नियमित अधिवेशनमा जानुपर्नेमा जोड दिए । विशेष अधिवेशनले अहिलेको समस्या समाधान नगर्ने बताउँदै उनले नेपाली कांग्रेसलाई सुधार गर्दै नियमित अधिवेशनमा अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । नियमित अघिवेशनले थप उर्जासँगै नयाँ सोच, नयाँ विचार, नया संगठनले पार्टीलाई नयाँ शिरामा उभ्याउने उनको भनाई छ ।