काठमाडौं, २६ असोज । नेपाली कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको निकै चर्चा रहेको छ । संस्थापन इतर समूहका नेताहरुले विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिििनधिहरुको हस्ताक्षर अभियान चलाएका थिए । कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । इतर समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरिरहेको अवस्थामा यता संस्थापन समूह भने नियमित महाधिवेशनको पक्षमा छ ।
कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सिंगो पंत्ति पनि नियमित महाधिवेशनको पक्षमा उभिएको छ । हिजो बसेको नेविसंघको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाएर पार्टीलाई कमजोर पार्न भूमिका खेलेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना भएको थियो ।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । विशेष महाधिवेशनको माग गर्दै चलाइएको हस्ताक्षर अभियानमा ५१ प्रतिशतले हस्ताक्षर गरेपछि पार्टी सभापति शेरबहादुर देउवा र उनीनिकट नेताहरुले महाधिवेशन प्रतिनिधिहरुलाई फोन गरेर हस्ताक्षर फिर्ता लिन दवाब दिएको तथ्य बाहिरिएको छ । सभापति देउवा, प्रवक्ता प्रकाशशरण महत, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले आफूनिकट महाधिवेशन प्रतिनिधिहरुलाई फोन गरेर हस्ताक्षर फिर्ता लिइदिन दवाब दिएको स्रोतको दाबी छ ।




प्रतिक्रिया