माओवादी नेता महरा पक्राउ


काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई ललितपुर–२६ खुमलटारबाट पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरण (इलेक्ट्रिक सिग्रेट) प्रकरणमा उनी पक्राउ परेका हुन् । ‘७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट (Vapes) मा रहेको मूल्य रु.८,५५,२८,३७४/- (आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर) बराबरको सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेका रविचन महराको छोरा रोल्पा जिल्ला साविक लिवाङ गा.वि.स. वडा नं. ७ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २६ खुमलटार बस्ने वर्ष ६८ को कृष्ण बहादुर महरालाई आज मिति २०८२/०६/२६ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको,’–सीआईबीका सूचना अधिकारी शिव कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

महरालाई यसअघि २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर सुन तस्करीको सन्दर्भमा अनुसन्धान गरेको थियो । उनीमाथि २०७९ सालमा भेपमा लुकाएर सुन तस्करी गरेको आरोप छ । अघिल्लो पटक महरा पक्राउ पर्दा उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए ।