काठमाडौं, २७ असोज । अधिवक्ता स्वागत नेपालले सबै जेन–जीहरु राजसंस्थावादी रहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शरीरमा गोली लागेर घाइते भएका सबै जेन–जीहरुले राजा चाहियो भनिराखेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेन–जीलाई हस्पिटलमा भेट्न जाँदा पनि उनीहरुले संघीयता खारेज र राजसंस्थाको पक्षमा आफ्नो मत सुनाएको अधिवक्ता नेपालको दाबी छ ।
‘जेन–जीहरु सबै राजावादी हुन् । सुरेन्द्रजंग थापा, जसको शरीरमा ५ वटा गोली लागेको छ । उहाँले बोल्दै हुनुहुन्थ्यो– मैले राजाका लागि लडेको हो । हरेक गोली खाने जेन–जीलाई हस्पिटलमा गएर सोध्नुस्– ती सबैले प्रधानमन्त्री भेट्न जाँदा संघीयता खारेज गर्नुस् भने कि भनेन् ? उनीहरु सबै राजा चाहियो भनिराखेका छन्,’– अधिवक्ता नेपालले भने ।
‘अबको राजावादीहरुको आन्दोलनमा जेन–जीहरुको सहभागिता रहन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘एक सय प्रतिशत । कसैले रोक्न सक्दैन ।’ उनले सुदन गुरुङ, मिराज ढुङ्गाना, रक्षा बमलगायतलाई असली जेन–जी मान्न नसकिने बताए । अहिलेको संविधान मान्नेहरु कांग्रेस, एमाले र माओवादीबाहेक जेन–जी हुनै नसक्ने उनको भनाइ छ । ‘तपाईँले भनिरहेका जो जेन–जीहरु देख्नुभयो नि, यिनीहरु त पार्टीको भातृ संगठनबाट कजेलमा चुनाव उठेका मान्छे हुन् ।
अधिवक्ता नेपालले राजसंस्थाको पक्षमा र अहिलेको व्यवस्थाको विरुद्धमा हुने सबै प्रकारका आन्दोलनमा आफने सहभागिता रहने पनि बताए । उनले राजसंस्थाको पक्षमा हुने आन्दोलन दुर्गा प्रसाईँ नभएर राक्षसले गरे पनि आफूले समर्थन गर्ने बताए । ‘राजसंस्थाको पक्षमा र यी नेता र दलहरुको विरुद्धमा राक्षशले आन्दोलन गरेछ भने पनि म समर्थन गर्छु । यो व्यवस्था, यो संविधान र दलका विरुद्धमा जुनसुकै कार्यक्रम गर्नुस्, म पूर्ण रुपमा समर्थन गर्छु । दुर्गा प्रसाईँ त के राजसंस्थाको समर्थनमा र यो व्यवस्थाको विरुद्धमा जसले पनि आवाज उठाउँछ, सबैलाई पूर्ण रुपमा सलाम गर्छु,’– उनले भने ।




प्रतिक्रिया