रवि लामिछाने र उनको ग्याङका कारण जेन-जी आन्दोलनको क्रममा देशभरका कैदीहरु भागेको नेविसंघ अध्यक्ष शेर्पाको दाबी, कारबाही गर्न माग


काठमाडौं, २७ असोज । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनको ग्याङको कारण देशभरका कैदीबन्दी भागेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले देशभरका कैदीबन्दी भाग्नुमा, प्रहरीको हतियार लुटपाट हुनुमा र अशान्ति मच्चिनुमा रास्वपा सभापति लामिछाने र त्यस पार्टीका नेताहरु मनिष झा, डीपी अर्याललगायतको भूमिका रहको दाबी गरेका छन् । नेविसंघ अध्यक्ष शेर्पाले उनीहरुमाथि छानविन गरेर कारबाही हुनुपर्ने बताए ।

‘आफूलाई नयाँ भन्ने साथीहरु आज जसले देशभरीका कैदीहरुलाई भगाएर, प्रहरीका हतियारहरु लुटेर अशान्ति मच्चाएको देखिराखेका छौं । रवि लामिछानेर उहाँको ग्याङ मनिष झा, डीपी अर्यालदेखि लिएर रास्वपाका सांसदहरु जसको कारणले गर्दाखेरी आज देशभरी अराजकता र हिंसा मच्चियो । उनीहरुमाथि पनि छानविन गरेर कारबाही गर्नुपर्छ,’– उनले भने ।

गत भदौ २३ र ३४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका कारागार र सुधार गृहबाट कैदीबन्दीहरु भागेका थिए । सो क्रममा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई पनि कारागार प्रशासनले छाडेको थियो । यद्यपि परिस्थिति सामान्य भइसकेपछि उनी फेरि आफैं कारागार फर्किएका छन् ।