काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै एक महिनापछि सार्वजनिक हुने भएका छन् । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सांघातिक हमलामा परेपछि सघन उपचारपछि घर फर्किएका देउवा अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
पार्टीका सिमित नेताहरुसँग मात्रै भेटवार्तामा रहेका देउवा भोलि (मंगलबार) सार्वजनिक हुने भएका छन् । उनी पार्टीको भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने जनाईएको छ । यसअघि पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सहभागी हुने भनिएपनि अन्तिममा उनी उपस्थित् भएनन् ।
बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए । देउवाले पार्टीलाई एकताबद्ध बनाउनेगरि काम गर्न मातहतका नेताहरुलाई सुझाव दिने गरेका समाचार बाहिरिएका छन् । कांग्रेसमा यतिवेला विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलनको अभियान चलाईएको छ ।
महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नै हस्ताक्षर अभियान चलाएको भनिएको छ । यो समूहले दाबी गरेअनुसार ५५ प्रतिशतभन्दा बढि हस्ताक्षर संकलन भएको छ । तर, संस्थापन पक्षले भने अहिले हस्ताक्षर अभियान चलाउँदा पार्टी नै विभाजन हुने खतरा औंल्याएको छ । देउवाले १५औं महाधिवेशनमा कसलाई नेतृत्वमा स्थापित गर्ने भनेर अहिले खुलाएका छैनन् । तर, उनले यही केन्द्रीय कमिटीको बैठकमार्फत स्पष्ट सन्देश दिने तयारी गरेका छन् । file photo




प्रतिक्रिया