कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, ३५ दिनपछि सार्वजनिक हुँदै देउवा


काठमाडौं, असोज २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बदै छ । पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्नेछ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् । जेन-जी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।

लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको छ । देउवा यसअघि सुरक्षा र स्वास्थ्यका कारण आफैँले बोलाएको पदाधिकारी बैठकमा सहभागी भएका थिएनन् ।