फागुन २१ गते नै निर्वाचन हुनेमा उपेन्द्र यादवको आशंका, सरकारको कामबारे उठाए प्रश्न


काठमाडौं, २८ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको सरकारले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् । यादवले सरकारले निर्वाचनलक्षित तयारी गम्भीरताका साथ नगरेको भन्दै फागुन २१ गते निर्वाचन हुनेमा आशंका व्यक्त गरेका हुन् ।

पार्टीको मधेश प्रदेशको अधिवेशनको उद्घाटन गर्ने क्रममा यादवले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सक्ने विश्वास दिलाउन सकेको छैन । निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको छ ।’

उनले राजनीतिक दलहरु बिनाको निर्वाचन सम्भव नरहेको बताउँदै तत्काल सरकारलाई दलसँग सम्वाद बढाउन सुझाव दिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराएजस्तै अहिलेको सरकार बिना राजनीतिक दलसँग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने चेतावनी दिए ।