काठमाडौं, २८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले संघीयतामाथि आँखा नलगाउन जेन–जीहरुलाई चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हजारौंको बलिदानीबाट संघीयता स्थापित भएको र यसलाई खारेज गर्ने भन्दा पनि झन बलियो बनाएर लगिनुपर्ने बताएका हुन् । उनले संघीयतालाई अधिकार सम्पन्न बनाएर लानेतिर अगाडि बढ्न आग्रह गरे ।
‘हामीले जेन–जी पुस्तालाई आग्रह गर्ने गरेका छौं– हिजो तपाईँहरुको आन्दोलनलाई हामीले सम्मान गर्छौं । २३ र २४ गते भएको त्यो आन्दोनलाई जनता समाजवादी पार्टी नेपाल सम्मान गर्छ । त्यस्तै यो देशमा तीन–तीन पटक मधेश आन्दोलन भएर हजारौं बलिदानी पश्चात संघीयता स्थापित भएको हो । कृपया संघीतामा आँखा नलाउनुस् । यो संघीयतालाई झन बलियो कसरी बनाउने ? संघीयता झन सुन्दर र अधिकार सम्पन्न कसरी बनाउने भन्नेतर्फ लागौं । यो अधिकारविहीन संघीयतालाई अधिकार सम्पन्न संघीयतातर्फ लागौं भन्ने हाम्रो उद्देश्य को हो । संघीयता नै खारेज गर्ने माग कसैले गर्नुहुन्छ भने खबरदार । त्यो भोलिको दिनका लागि ठीक हुने छैन । संघीयताविरुद्धको कुरा नगरौं,’– उनले भने ।
्
उनले संघीयता देशको सबैभन्दा आवश्यक चिज रहेको बताए । अहिलेको संघीयता अधिकारविहीन भएकाले प्रदेशसभाहरुमा समस्या देखिएको उनले बताए । नेता सुमनले संघीयताहरुलाई अधिकार सम्पन्न बनाउनका लागि सबैभन्दा पहिला अर्थको अधिकार, दोस्रो प्रशासनिक अधिकार र तेस्रोमा प्रदेशहरुले बनाएको कानूुनलाई मान्यता दिनुपर्ने बताए । संघीयताकै कारण यो देशमा मुस्लिम, राई, गुरुङ, थारुका छोराछोरी मुख्यमन्त्रीसम्म बन्न पाएको उनले बताए । संघीयता खारेजी नभएर अधिकार सम्पन्न संघीयताको माग गर्न उनले जेन–जीहरुलाई आग्रह गरे । संघीयता खारेजीको माग गर्नु ठूलो द्वन्द्वको विजारोपण गर्नु रहेको उनले बताए ।




प्रतिक्रिया