निर्वाचनको पूर्वशर्तको रुपमा रहेको शान्ति–सुरक्षा ग्यारेन्टी छैन : देउवा


काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ ग्ते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको भएपनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई लिखित सम्बोधन गरेका देउवाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतःस्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो ।’

गत भदौ २४३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रुप लिएको देउवाको दाबी छ । घट्नामा नवयुकहरुको ज्यान गएको भन्दै आफू र सबैलाई अत्यन्तै मर्माहित बनाएको पनि उनले उल्लेख गरेका छन् ।
देउवाले भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादसमेत भनेका छन् । उनले भनेका छन्,‘त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट रोकिएको छ ।’