राष्ट्रपति रामचन्द्रलाई धन्यवाद दिएका देउवाले अन्य राजनीतिक दलहरुसँग सम्वाद गरिनुपर्ने आवश्यकता औंल्याए, निर्वाचनको वातावरण नबनेको दाबी


काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ ग्ते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको भएपनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई लिखित सम्बोधन गरेका देउवाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतःस्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो ।’

गत भदौ २४३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रुप लिएको देउवाको दाबी छ । घट्नामा नवयुकहरुको ज्यान गएको भन्दै आफू र सबैलाई अत्यन्तै मर्माहित बनाएको पनि उनले उल्लेख गरेका छन् ।

देउवाले भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादसमेत भनेका छन् । उनले भनेका छन्,‘त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट रोकिएको छ ।’

देशको विषम वर्तमान परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत सम्वाद र सहकार्य गर्नु आवश्यक रहेको देउवाले औंल्याएका छन् । उनले संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको दाबी गरेका छन् । उनले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताएका छन् ।

देउवाले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पूनः संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भनेका छन् । तर, अहिले सरकारले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सार्थक सम्वादको वातावरण नबनाएको गुनासो पोखे ।

कांग्रेसले अन्य राजनीतिक दलहरुसँग सम्वाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक रहेको पनि उनले औंल्याएका छन् । उनले भनेका छन्,‘मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौं ।’