काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकतावद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलसँगसमेत संवाद र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमाा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको पनि बताए । उनले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक र अलोकतान्त्रिक तबरले विघटन गरिएको बताए ।
सरकारले आगामी फाुगन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भए पनि स्वतन्त्र, निष्पक्ष र भयरहीत निर्वाचनको वातावरण बन्न नसकेको देउवाले बताएका छन् । देउवाले निर्वाचनको पूर्व शर्तको रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी नरहेको र यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताएका छन् ।
सरकारले निर्वाचनको लागि वातावरण बनाउन सकेकमा पुनः संवैधानिक बाटोमा फर्किने आधार निर्वाचन हो भन्ने कांग्रेसको विश्वास रहेको पनि उनले बताएका छन् । सरकारले राजनीतिक दलसँग सार्थक संवादको वातावरण नबनाएको अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्नुपर्ने आवश्यकता पनि देउवाले औंल्याएका छन् ।
साथै, देउवाले आफूले कांग्रेसलाई सधैं सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने कोशिस गरेको पनि बताएका छन् ।




प्रतिक्रिया