काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते आफू र आफ्नो परिवारमाथि ज्यानै लिने मनशायले सांघातिक हमला भएको बताएका छन् । आज (मंगलबार) केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले ज्यानै लिने मनशायले आफू र आफ्नो परिवारमाथि सांघाति हमला भएको र घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको बताए ।
‘भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरो परिवारमाथि पनि ज्यानै लिने मनशायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे । सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि हामीलाई उद्दार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरु जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रुपमा भुठा प्रचार गरियो,’– उनले भनेका छन् ।
राष्ट्र, जनता र पद्दतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको हमला जुनसुकै बेला पनि आउन सक्ने र सामना गर्ने शाहस राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले उल्लेख गरेका छन् । गत भदौ २३ र २४ गतेको घटनालाई उनले देश, पद्दति र पार्टीमाथिको आक्रमण भनेका छन् ।
आक्रमणकारीको कब्जाबाट आफूहरुलाई बचाउने सुरक्षाकर्मी र शुभचिन्तकहरुलाई उनले धन्यवाद ज्ञापन गरेका छन् । देउवाले उनीहरुलाई आफूले जीवनभर स्मरण गरिरहने पनि उल्लेख गरेका छन् ।




प्रतिक्रिया