मोटरसाइकल ‘एस्कर्टिङ’मा रामबाघ महल पुग्दै ओली


काठमाडौं, असोज २९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गर्दै भक्तपुरको गुण्डुबाट ललितपुर पु¥याउने भएको छ । झम्सीखेल भनिमण्डलस्थित रामबाघ महलमा आज बिहान शुरु हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन ओलीलाई गुण्डुबाट मोटरसाइकल स्कर्टिङ गरेर पार्टी प्यालेस पु¥याउन लागिएको हो । युवा संघले फर्किदा पनि ओलीलाई स्कर्टिङ गरेर गुन्डु पु¥याउने छ ।

एमालेको १०औं केन्द्रीय कमिटी बैठक आजदेखि रामबाघ महलमा शुरु हुँदैछ। बैठकको प्रारम्भमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ।

प्रतिवेदनमा हालैको जेन जी प्रदर्शन र विध्वंश,त्यसको प्रभाव र परिणाम,जेन जी विध्वंशपछि गठित अन्तरिम सरकार, आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा भाग नलिने र सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गराउने विषयहरू रहेको बुझिएको छ ।

सरकारले ओलीको सुरक्षा कटौती गरेपछि उनको सुरक्षाको जिम्मा पूर्वसैनिक, पूर्वप्रहरी सङ्गठन र एमाले निकट राष्ट्रिय युवा संघ नेपालले लिएको छ । युवा संघले गुन्डुस्थित ओली निवासमा समेत पहरा दिदै आएको छ । जेन-जी आन्दोलनपछि ओली सेनाको ब्यारेकबाट फर्केर गुण्डुमा बस्न थालेका छन् । उनी आज गुण्डुबाट पहिलोपटक बाहिर निस्कन लागेका छन् । उपत्यका बाहिर निस्कन भने उनले जाँचबुझ आयोगको अनुमति लिनुपर्ने हुन्छ ।