हस्ताक्षर अभियानकै कारण तत्काल महाधिवेशनको वातावरण बनेको छ: कांग्रेस नेता आचार्य


काठमाडौं, असोज २९ । नेपाली कांग्रेसका नेता मधु आचार्यले ५५ प्रतिशन महाधिवेशन प्रतिनिधिहरुले गरेको हस्ताक्षर अभियानकै कारण पार्टी भित्रका चार वटा आन्यौलतालाई स्पष्ट पारेको बताएका छन् । महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियानको दबावकै कारण मंगलबार केन्द्रिय कमिटिको बैठक बसेको बताउँदै उनले उक्त बैठकले सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्न तयार रहेको, पार्टी नियमित महाधिवेशनमा जान तयार रहेको र बैठकले निर्वाचनमा जानेबारेका अन्यौलतालाई चिरेको जानकारी गराए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टी संसद पुर्नस्थापनाको पक्षमा भन्दा निर्वाचनमा जाने निर्णयले हस्ताक्षर अभियानको औचित्य पृष्टि गरेको बताए । उनले भने, ‘हस्ताक्षर अभियानकै कारण तत्काल महाधिवेशनको वातावरण बनेको छ । अन्यौलताका कारण पार्टी एउटा निर्णयमा जान नसकेको अवस्थामा आम नेता कार्यकर्तामा सभापतिले कार्यभार सभापति तोक्नु हुन्छ कि हुँदैन् ? तोक्नुभयो भने कसलाई तोक्नुहुन्छ भन्ने थियो । सभापतिले हिजोको बैठकमा पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर आम जिज्ञासा प्रष्ट पारिसक्नुभयो । त्यस्तै, महाधिवेशन हुन्छ कि हुँदैन भन्ने कौतुहलतालाई समेत चिर्दै पार्टी नियमित महाधिवेशनमा जाने पक्का भएको छ । चार वर्षे कार्यकाल विशेष परिस्थितिमा एक वर्ष थप्ने कि भन्ने थियो । तर, हिजोको बैठकबाट थप्ने नभई घटाउनेबारे निराकरण भएको छ । कांग्रेस संसद् पुर्नस्थापना वा निर्वाचनमा जान्छ भन्ने आम चासोका बीच मंगलबारको बैठकले पार्टीलाई जनतामाझ लैजाने निणर्य गरेर बाटो खुला गरेको छ ।’

विद्यार्थी आन्दोलनबाट उदाएका सभापति देउवा जेनजी आन्दोलनबाट पार्टीबाट बिदा हुन लागेको बताउँदै उनले हस्ताक्षर अभियानमा ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरले नेतृत्व हस्तान्तरण गर्न दवाव दिन सहयोग पुगेको जानकारी दिए । पार्टीको १४ औँ महाधिवेशनमा चार हजार सात ४४३ जना प्रतिनिधि रहेकोमा अहिलेसम्म (१८७ जना) केहिले पार्टी छाडेका छन भने केहीको मृत्यु भएको छ । बाँकी चार हजार पाँच सय ५६ मध्ये २४ सय ८७ जनाले अभियानमा सहभागी भएर हस्ताक्षर गरेको उनले जानकारी दिए ।

कांग्रेसमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै असोज पहिलो साता हस्ताक्षर अभियान सुरु गरेका थिए ।

सभापति देउवा मंगलबारदेखि औपचारिक रूपमा पार्टीको कार्यकारी भूमिकाबाट अलग भएका छन्। उनी स्वयंले आफू स्वास्थ्यका कारण पार्टीको नेतृत्व र सञ्चालन गर्न असमर्थ भएको बताउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको भूमिका प्रदान गरेका छन्।

साथै उनले यसअघिकै आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै अब पार्टीको नेतृत्वमा दाबी नगर्ने पनि स्पष्ट पारेका छन्। उनको यस प्रस्तुतिसँगै अब कांग्रेसमा उठिरहेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज सम्बोधन भएको छ। त्यस्तै, देउवाले मुलुकको राजनीतिलाई संवैधानिक मार्गमा फर्काउने एक मात्र विकल्प चुनाव रहेको पनि स्पष्ट पारेका छन् भने चुनावका लागि सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उनको भनाई छ ।