मधेशमा बन्यो कांग्रेस-एमाले इतरको गठबन्धन, सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने


काठमाडौं, २९ असोज । मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेस–एमाले इतर ५ दलको गठबन्धन बनेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेस–एमाले इतरको गठबन्धन बनेको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) को नयाँ गठबन्धन बनेको हो । ५ दलीय नयाँ गठबन्धन बनेसँगै पहिलो र दोस्रो ठूला दल कांग्रेस–एमाले सत्ता बाहिर नै रहने भएका छन् ।

मधेशमा जसपा नेपालको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८ र एकीकृत समाजवादीको ७ सांसद रहेका छन् । पाँच दलका ५६ सांसदहरुको हस्ताक्षरसहित आज सोनलले मुख्यमन्त्रीको दाबी गर्न लागेका हुन् ।

सतिशकुमार सिंहले मुख्यमन्त्री पदबाट हिजो राजीनामा दिएसँगै मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज अपराह्न ४ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिईन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा नयाँ सरकार गठनको लागि ५४ सांसद्को समर्थन आवश्यक पर्छ ।