संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक रहेको सबै दलहरुको साझा मत


काठमाडौं, २९ असोज । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद महेश बर्तौलाले संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक छ भन्ने कुरामा सबै दलहरुको साझा मत बनेको बताएका छन् । सभामुख देवराज घिमिरेले दलहरुसँग आज संसद् विघटनबारे छलफल गरेका थिए । सभामुख घिमिरेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले नेता बर्तौलाले भने षड्यन्त्रपूर्वक संसद् विघटन भएकोमा सबै दलहरुको साझा मत रहेको बताएका हुन् ।

‘अहिलेको विकसित राजनीतिक घटनाक्रम, विशेषगरी संसद् विघटन भइसकेपछिका परिस्थितिका बारेमा हामीहरुका बीचमा छलफल भयो । सबै दलहरुले आजको बैठकका संसद् विघटन असाध्यै अलोकतान्त्रिक, असंसदीय क्रियाकलाप हो र संसद्लाई कायम राखेर सबै प्रकारका समस्याहरुको हल दिन सकिने अवस्था हुँदाहुँदै षड्यन्त्रको कारणले गर्दा यो अन्त्य भयो भन्ने हामी सबै दलहरुको साझा मत भयो,’– उनले भने ।

साथै, नेता बर्तौलाले अहिलेको संसद् विघटन अलोकतान्त्रिक छ र असंसदीय रहेको र यसको पुनर्स्थापना हुनु जरुरी रहेको बताए । यसको लागि यो व्यवस्था र संविधान मान्ने सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु आजको आवश्यकता रहेको उनले बताए ।